रथी श्री बलदेबराज महत (अ.प्रा.) को तर्फबाट पेश भएको गोत्र सम्वन्धमा अवधारणा-पत्र
रथी श्री बलदेबराज महत (अ.प्रा.) को तर्फबाट पेश भएको गोत्र सम्वन्धमा अवधारणा-पत्र
बलदेबराज महतले गोत्र परिबर्तन सम्बन्धी आलेखलाई महत परिवारको केन्द्रीय भेलामा अध्ययन, बिचार, बिमर्श, छलफल, चर्चा र परिचर्चा आदि गर्न उचित हुने देखिएको हुँदा सबैको जानकारीको लागि प्रस्तुत गरिएको छ। गोत्रको विषयमा सम्पूर्ण महत परिवारका अग्रज, अध्ययेता र युवा पङ्तीको सकारात्मक सुझावको अपेक्षा गरिएको छ।
हाम्रो गोत्र परिबर्तन सम्बन्धमा
हामी महतहरुले मानि आएका गोत्रहरुः
१) गौतम २) शाण्डिल्य ३) शाण्डेली ४) काश्यप ५) भारद्वाज ६) कौडिन्य
७) कौडिल्य ८) आत्रय ९) कौशिक १०) कौशिल्या ११) कृष्णजन्य १२) मानधात्र गरी जम्मा १२ गोत्र।
हामी एउटै हुनुको भावनात्मक आधारः
हामी देशका बिभिन्न ५५ जिल्लामा छरिएर रहेका करिब १९००० भन्दा केही बढीको अल्पसङ्ख्यामा रहेका छौँ। जहाँ रहेपनि जसरी रहेपनि हामी एउटै बंशका महतहरु हौँ भन्ने कुरामा हामी बिश्वस्त छौँ। हामी एउटै हौँ भन्नेमा हामी सबैलाई उत्तिकै गर्बको अनुभूति रहेको छ। हामीमा एकअर्काप्रति अत्यन्त आदर, प्रेमभाव, सद्भाव, मायास्नेह, अपनत्व, भ्रातृत्व र मिलेसम्म जानेसम्म सुखदुःखमा साथ दिने सकारात्मक सँस्कार देखिनु गर्वको विषय हो। जहाँका भएपनि हामी अभिन्न रगतको नाताले जोडिएका छौँ भन्ने अत्यन्त उदाहरणीय भावनाले भित्री मनबाटै गाँसिएका छौँ। हाम्रो यही भावना नै हामी एउटै हौँ भन्ने सबैभन्दा बलियो आधार र प्रमाण हो। हाम्रो यो भावनालाई अन्य थरका कतिपय ब्यक्तिहरुले प्रसंसा समेत गर्ने गरेको पाइन्छ।
हामी एउटै बंशका एउटै रगतका र एउटै भावनाका दाजुभाइ दिदीबहिनी भएकै कारणले हाम्रो गोत्र फरक भएतापनि एकअर्कामा बिबाहबरी नचल्ने कुरामा हालसम्म हामी अडिग र अबिचलित रहन सकेका छौँ। यदि कोही कसैले गोत्र फरक भएपछि बिबाहबरी गर्न थुनछेक हुँदैन भन्नेहरुको उक्साहटमा कसैको बीचमा बिबाहबरी भएमा वा भएको रहेछ भने त्यस्तोलाई कुकर्म मानेर बिबाह गर्ने गराउने दुबैथरीलाई हाम्रो थरजातबाट च्यूत गर्न पर्छ भन्ने सुझाव समेत प्राप्त भएको छ। महत भन्नासाथ हामी सबैलाइ जुनसुकै स्थानको भएपनि भेटौँभेटौँ लाग्ने, कुराकानी गर्न मन लाग्ने,उहाँहरुको बारेमा जान्न बुझ्न मन लाग्ने, सकेको सहयोग गर्न मन लाग्ने, दुःखसुखमा सकेको साथ दिन मन लाग्ने, पत्रपत्रिका र सामाजिक सञ्जालमा महत सम्बन्धी कुनै समाचार वा सूचना आएमा निकै ध्यान दिएर पढ्ने बुझ्ने र चासो राख्ने आदि काम हाम्रा सबै दाजुभाइ दिदी बहिनीहरुले एउटै तरिकाबाट गरेको पाइन्छ। हाम्रो यो भावना ज्यादै राम्रो, उदाहरणीय हुनुका साथै भबिष्यमा अझ बढ्दै जाने निश्चित छ। यसलाई हामी सबैले जानी नजानी वा कसैको करकाप वा जबरजस्ति नभइ स्वतस्फूर्त तरिकाले सकारात्मक रुपमा ग्रहण गरेका छौँ। सबै कुराको लिखित प्रमाण उपलब्ध नहुने हुनाले यो नै हामी एउटै हुनुको भावनात्मक आधार र प्रमाण हो भन्न सकिन्छ।
गोत्र फरक हुनुका केही सम्भावित कारणहरु
- अबसर र गुजाराको खोजीमा मूल थलो छोडेर हिँड्दा गोत्रमा ध्यान नपुग्नु।
- बसाइँसराइबाट सानो सँख्यामा नयाँ ठाउँमा पुग्दा गोत्र थाहा नभएर त्यतैको मिल्दो गोत्र मान्नु।
- मावली ससुराली वा अन्य ठाउँमा बस्दा त्यहीँको गोत्र ग्रहण गर्नु।
- गोत्र थाहा नभएकोले पुरोहितले भनेको गोत्र ग्रहण गर्नु वा मान्नु।
- राजाज्ञाबाट गोत्र परिबर्तन गर्नु(नुवाकोट,मकवानपुरका दाजुभाइहरु)।
- पृथ्वीनारायण शाहबाट भारध्वज गोत्र परित्याग गरी कास्यप गोत्र ग्रहण/ धारण गरेको कार्यको अनुशरण गर्नु।
- उदाहरणीय कार्य गरेर उपाधिको रुपमा गोत्र प्राप्त गर्नु ।(जुधिरहेका साँढेहरु मध्ये एक इनारमा खसेको र झरेको साँढेलाई इनारबाट एकजना हिम्मतिलो महत एक्लैले इनारबाट उठाएर बाहिर झिकेर ल्याएकोमा पाएको उपाधिस्वरुप शाण्डिल्य गोत्र धारण गरेको भन्ने किम्वदन्ती)
- दाजुभाइ बीच ठूलो झगडा परेर रिसमा तैँले मानेको गोत्रपनि मान्दिन भनेर रिसको झोँकमा नयाँ गोत्र मान्नु। यसको सानो उदाहरण विभिन्न स्थानमा एउटै बस्तीमा पनि भिन्न भिन्न भएर कुलपूजा गर्नुलाई लिन सकिन्छ।
- अन्य केही सम्भावित कारणहरु पनि रहेका हुन सक्छन्। यसका लागि प्राप्त सुझावलाई ग्रहण गर्न सकिनेछ।
हाम्रो एउटै गोत्र हुनु पर्छ भन्ने धारणा
हामी सबैको भित्री मनमा हामी एउटै हौँ। हाम्रो गोत्र एउटै हुन पर्छ भन्ने अटल भावना र बिश्वास रहेको प्रष्टै बुझिन्छ। यो बिषयमा बिगत केही बर्षदेखि लगातार रुपमा छलफल तथा चर्चा परिचर्चा भइरहनु नै यसको गतिलो प्रमाण हो। हामी सबै एउटै गोत्रको चाहना राख्ने तर यसलाई कार्यान्वयन गर्न नसक्ने अप्ठ्यारो अबस्थामा रहेका छौँ। यो एउटा ज्यादै सम्बेदनशील बिषय भएको र केहि ब्यक्तिहरुले हठातमा निर्णय गर्दा आफ्ना अन्य दाजुभाइहरुले नमान्लान् र आफूलाई गाल पर्ला भन्ने डर नै यसको मुख्य कारण हो। यो कसैलाई जबरजस्ती लाद्न मिल्ने बिषयपनि होइन। यसमा एकअर्काको भावना मूल्यमान्यता जस्ता ज्यादै नाजुक र संबेदनशील कुराहरुलाई ज्यादै शुक्ष्म बिश्लेषण गर्दै सबैलाई मान्य हुन सक्ने निचोडमा पुग्न सकेमा मात्र हाम्रो सोचाइले मूर्तरुप ग्रहण गर्न सक्ने देखिन्छ। अन्यथ यो सँधैभरी छलफलमा आउने तर कहिल्यै पनि कार्यान्वयन नहुने बिषय हुँदै बिस्तार छलफलबाट पनि हराउने निश्चित छ। त्यसैले अहिले नै यस बिषयमा ठोस र सर्बमान्य निर्णय हुन पर्ने टड्कारो आबश्यकता रहेको देखिन्छ।
ब्यबहारिक रुपबाट हेर्दा स्थान,समय,परिस्थिति र अन्य कारणहरुबाट गोत्र परिबर्तन भएरै हाम्रो गोत्र एकबाट अनेक हुन पुगेको हुनाले गोत्र अपरिबर्तनीय र अकाट्य बिषय होइन भन्ने नै बुझिन्छ। गोत्र भनेको कुनै ऋषिको सन्तान भएकोले होइन कि ऋषिको शिष्य भएकोले मानिएको भन्ने बुझिएको छ। त्यसो भएरै बिगतमा राजादेखि जनतासम्मले आफ्नो तत्कालिन आबश्यकताको कारणले गोत्र परिबर्तन गरेका उदाहरणहरु हामीले इतिहासमा पाउँछौँ। तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाहले गोत्र हत्याको पापबाट बच्नको लागि एकीकरण अभियान सुरु गर्नु अघि नै काँशी गएर भारद्वाजबाट काश्यप गोत्र परिबर्तन गरेको लिखित इतिहास नै छ। सोही समयमा राजासँगै काँशी गएका हाम्रा नुवाकोट र मकवानपुरका पूर्वजहरुले समेत सोही गोत्र लिएको इतिहास रहेको छ। पहिले जुनसुकै कारणबाट गोत्र परिबर्तन भएको भएपनि हामीले यसलाई सच्याएर फेरि हामी सबैको इच्छा चाहना र भावना अनुसार एउटै गोत्रमा फर्केर हामी मुखले मात्रै होइन वास्तबमै एक हौँ भन्ने कार्य गरेर देखाउने हो भने गोत्र परिबर्तन धेरै जटिल र ठूलो समस्या होइन। हाम्रो कुरा मिल्यो भने यो समस्या सहजै हल हुन सक्ने देखिन्छ। यसो गर्दा बर्तमानको केही समयको लागि हाम्रो गोत्रमा आएका हाम्रा आमा भाउजु बुहारीहरु र हामीले पाएका छोरी चेलीहरुको बैबाहिक कारणले केही ब्यबहारिक कठिनाइ आएतापनि यो बिस्तारै क्रमिकरुपमा मिल्दै जाने कुरालाई सकारात्मक लिएर ग्रहण गर्न सक्ने हो भने यसले खासै ठूलो समस्या निम्तिने सम्भावना देखिँदैन।
गोत्र परिवर्तनमा देखिएका केही सम्भाबित ब्यबहारिक समस्याहरु
- आफूले मानि आएको गोत्रमा गर्ब महसुस हुनु।यो ज्यादै सकारात्मक कुरा हो।
- गोत्र परिबर्तनको चाहना भएपनि अरु आफ्नो गोत्रमा आउन पर्छ भन्ने सोचाइ।
- गोत्र परिबर्तन गरेमा कुनै अनिष्ट हुन्छ कि भन्ने अज्ञात भय।
- गोत्र परिबर्तन गर्ने प्रयास गर्दा आफन्तहरु रिसाउलान् वा अनाबश्यक रुपमा गाल पर्लाकि भन्ने धारणा।
- हालको बैबाहिक सम्बन्धले कठिनाइ पर्ला कि भन्ने सोचाइ।
- अर्काको गोत्रमा किन जाने भन्ने भावना।
- यस बाहेकपनि अन्य थप कारणहरु हुन सक्छन्।
उदार सोच भएका हाम्रा पुर्खाहरु
सर्सर्ती बिचार गर्दापनि हाम्रा पूर्बजहरु संकिर्ण सोचका नभइ सुधारबादी सोचका भएका कारणबाट उहाँहरुले आफ्नो तत्कालिन आबश्यकता, बाध्यता, सूचनाको अभाव,यथेष्ट ज्ञानको अभाव,आफ्ना मान्यजनहरु(पुरोहित,मावली,ससुराली,स्थानीय जान्नेबुझ्ने भद्रभलादमी आदि)को आदर स्वरुप बिभिन्न गोत्रहरु धारण गरेको हुनसक्ने देखिन्छ। पूर्बजहरुले समेत कुनै कठिनाइ महसुस नगरी सजिलैसित गोत्र परिबर्तन वा धारण गरेकोले यसबाट हाम्रा बंशजहरुमा कुनै अनिष्ट भएको सुनिएको छैन। यसबाट हाम्रा पुर्खा वा पूर्बजहरु समय र परिस्थिति अनुसार चल्न अनि त्यस अनुसार ढल्न र ज्यादै सकारात्मक सोचका साथ सबै जटिल बिषयहरुमा पनि हदैसम्मको लचकता अपनाएर समाजमा स्थापित हुन सक्ने ब्यक्तित्वहरु रहेकोमा कुनै सन्देह छैन। उबेलामा सूचनाको अभाव,सुबिधाहरुमा प्रतिकूलता,समय अनुसार ज्ञानको कमी,अबिभावक मानिएका ब्यक्तित्वहरु प्रतिको सम्मान र आज्ञाकारिता आदिको कारणहरुले बाध्यात्मक अबस्थामा गोत्र परिबर्तन हुँदै गएकोमा दुईमत हुन सक्दैन। यसलाइ हामीले पूर्बजहरुबाट भएको कमीकमजोरी त्रुटि वा गल्ती भन्नुभन्दा पनि जुनसुकै गोत्र धारण गरेर भएपनि हाम्रो थरलाई यथाबत राखिदिनु भएकोमा उहाँहरुप्रति भित्री ह्दयबाटै कृतज्ञ हुन पर्दछ। यदि जानेर नजानेर वा कुनैपनि बाध्यताबश हाम्रा महान पूर्बजहरुबाट केही भूल हुन गएको रहेछ भनेपनि त्यसलाई क्रमिकरुपमा सुधार गर्दै जानुपनि हामी सन्ततीहरुको जिम्मेवारी र कर्तब्य नै हो। तसर्थ,हाल यस बिषयलाई हामी सबैको चासो ध्यान र भावना एउटै भएको बर्तमान समयमा यसतर्फ सबैको समान सम्मान र मर्यादा रहने गरि आबश्यक बिचार बिमर्श र ब्यापक छलफल गरि ठोस कदम चालेर एउटै गोत्र धारण गर्नु अहिलेको आबश्यकता नै हो।
उद्गमस्थलको खोजि
अहिले हाम्रो देशमा मात्रै नभएर बिश्वभरी नै आफ्नो उद्गमस्थल र पुर्खाहरु बारे खोज अनुसन्धान गर्ने र आफू कहाँको,कुन जातिको,कुन धार्मिक आस्थाको,कुन समूह वा उप समूहको,कुन बंशबृक्षको,त्यसमा पनि कुन हाँगाको र त्यसको जरा सम्बन्धमा धेरै गम्भीरतापूर्बक लागि पर्ने लहर नै आएको देखिन्छ। संसारका बिभिन्न देशहरुबाट बिभिन्न कारणहरुले अन्य देशहरुमा बसाइँसराइ गर्दै नयाँ मुलुकमा पुगेका मानिसहरुले आफ्नो वास्तबिक पहिचान नगुमोस् र आफू जस्तै आफ्ना भावी सन्तती वा पिँढीहरुले पनि आफ्नो जस्तै अबस्था ब्यहोर्दै पहिचानबिहीन जीवन यापन गर्न नपरोस् भन्नु नै यसको मूल उद्देश्य रहेको देखिन्छ। आफ्नो उद्गमस्थल बारे सहि खोज र अनुसन्धान हुन सकेमा गर्बिलो पहिचानसहित भाबि सन्ततीको पूर्ण सम्मानसहितको भबिष्य सुनिश्चित गर्न प्रयास गर्नेहरुलाई सबैले आदरको दृष्टिले हेर्दै संसारभरी सराहना भइरहेका उदाहरणहरु हाम्रा अगाडि प्रशस्त छन्।
खासगरी अफ्रिकाका उपनिबेश राष्ट्र्हरुबाट यूरोपका बिभिन्न मुलुकहरु र अमेरिकामा दास वा अन्य कामदारको रुपमा पुगेका अफ्रिकी मूलका जनताहरुले हाल उच्च शिक्षा हासिल गरी बिभिन्न उच्च पद र स्थानहरुमा पुगेर आफ्नो उद्गमस्थल बारे खोजि गरिरहेका छन्। यसमा सबैको साथ सहयोग र समर्थन बढ्दै गएको पाइएबाट यसको महत्व र आबश्यकता कति ब्यापक रहेछ भन्ने बुझ्न सकिन्छ।
अहिले हामीलाई त्यो स्तरको समस्या परिसकेको छैन। अहिले हामीले हामी सबै महतहरु एउटै बंश,एउटै गोत्र र एउटै पुर्खाबाट आएका हुनाले एकआपसमा बिबाहबरी गर्नै हुँदैन भन्दै आएका छौँ। गोत्राबलीको आधारमा कसैले यसलाई उल्लंघन गरेमा रोक्ने वा प्रतिकार गर्ने हाम्रो नैतिक आधार देखिँदैन। धार्मिक मूल्यमान्यता र परम्परा अनुसार फरक गोत्रमा बिहेवारी गर्न कसैले रोक्न मिल्दैन। धार्मिक कारण,कानूनी ब्यबस्था र परम्परालाई चुनौती दिनको लागि यस्तो गर्न हुँदैन,उस्तो गर्न हुँदैन भनेर गफमात्रै गरेर कसैको प्रेम,इच्छा र बाध्यतालाई नकार्न मिल्दैन। त्यसैले पनि एउटै गोत्र धारण गरेमा भबिष्यमा हामीले यस्को कुनै चिन्ता गर्न पर्दैन। मौखिक आधारमा मात्रै यसको बिरोध गर्दै हिँडेमा हामीलाई अरुले अत्यन्त रुढीबादी,पुरातनबादी,अब्यबहारिक,धार्मिक मूल्यमान्यता बिरोधी, सँकिर्ण सोच भएका,जडसूत्रबादी,कहिल्यै सुध्रन नसक्ने खालका,जातपातको भेदभाव गर्ने आदिको सूचीमा राख्ने खतरा रहन्छ। यसबाट हाम्रा पूर्बजहरुले ठूलो दुःख,संघर्ष र बलिदान गरेर कमाएको मान,प्रतिष्ठा,इज्जत र सम्मानमा समेत ठूलो आघात पर्न जाने सम्भावना रहने हुनाले हामी बर्तमानका पुस्ताबाट यस्तो त्रुटि हुनै सक्दैन भन्नेमा ढुक्क हुन सकिन्छ।
ऐतिहासिक आधार र दस्ताबेजहरुबाट पुष्टि भए अनुसार हामी महतहरुको उद्गमस्थल जुम्ला नै भएकोमा कुनै शङ्का छैन। हाम्रो मात्रै नभएर धेरै अन्य जातजाती र थर भएका क्षत्रीहरुको उद्गमस्थल जुम्ला र बृहत जुम्ला राज्य अन्तरगतका स्थानहरु नै हो। यसमा सबै जातजाती र क्षत्रीहरुले ज्यादै गर्ब महसुस गर्ने गरेका छन्। हामीलाई पनि हाम्रो उद्गमस्थल जुम्ला हो र हामी जुम्ली हौँ भन्नेमा गर्बको अनुभूती हुन्छ। जुम्ला देखेका पुगेका र नपुगेका नदेखेका सबै महतहरुलाई यसमा गर्ब लाग्नू र सबैले गर्बको महसुस गर्नु स्वाभाबिक हो।
यसै सिलसिलामा हालको The Gambia af^ 6 पुस्ता अगाडि दासको रुपमा अमेरिका पुगेका आप्mना पुर्खाहरुको बारेको खोज,अनुसन्धान कार्य गरि सो बारेमा Alex Heley नामक अमेरिकी लेखकले सन् १९७६ मा लेखेको Roots शLर्षकको चर्चित पुस्तकले बयान गरे अनुसार आप्mना पुर्खा दास भएर ६ पुस्ता अगाडि अमेरिका आइ पुगेपछि दास,स्वतन्त्र ब्यक्ति,फलामको काम गर्ने मजदुर,अधिवक्ता,आर्किटेक्ट र लेखकसम्म कसरी आइपुगे भन्ने बारे खोज गर्दै उद्गमस्थलसम्म पुगेर दास भएर आउने ब्यक्ति १६ वर्षीय युवक Kunta Kinte हुन् भन्ने पत्ता लगाए। ठूलो चुनौती र संघर्षसहित सो कुरा पत्ता लागेपछि उनले लेखेको पुस्तकले आप्mनो उद्गमस्थल र पुर्खाहरुको बारेमा खोजि गरि आप्mना भाबि सन्ततिहरुको पहिचान सुरक्षित राख्न संसारभर यस्ता कार्यहरु गर्ने लहर नै चलेको थियो। यसबाटपनि आप्mनो उद्गम स्थल,पुर्खा र पहिचानको महत्व कति रहेछ भनेर बुभ्mन सकिन्छ।
कुन गोत्र धारण गर्न ठीक होला?
हाम्रो उद्गमस्थल जुम्ला हो। वास्तबमा हामी जुम्ली हौँ भन्ने पुष्टि भईसकेपछि हाम्रो उद्गमस्थलका दाजुभाइहरुले मानि आएको गोत्र धारण गरेर पुराना कमी कमजोरीहरुलाई सच्याउनु नै अहिले हाम्रो कर्तब्य र जिम्मेवारी हो। यसमा सबैको सहमती नहुन सक्छ तर योभन्दा राम्रो बिकल्प पनि हाललाई देखिँदैन। त्यसैले हामी सबैले कुनै पूर्बाग्रह,सँकिर्ण बिचार,स्वार्थ,आडम्बर र अनाबश्यक अहमलाई त्यागेर स्वच्छ मन, बचन र कर्मले अगाडि बढ्ने हो भने अहिलेलाई योभन्दा उत्तम बिकल्प अर्को हुन सक्दैन। अहिले हामी यसबाट चुकेमा हाम्रा भावी सन्ततीहरुले हामीलाई धिकार्ने अबस्था आउन सक्ने हुनाले सबैले राम्रोसँग सोचौँ। आफ्नो गाउँ टोल र जिल्ला समितिमा सकारात्मक छलफल गरौँ। आफ्ना अग्रजहरुलाई सहमत गराउने प्रयास गरौँ। बिबाहबरी लगायतका कारणले अहिले एक पटकका लागि आइ पर्न सक्ने ब्यबहारिक समस्याहरु क्रमिक रुपमा सुध्रिँदै जान्छन् भन्ने सोचौँ र कार्यान्वयन गर्नेतर्फ अग्रसर बनौँ भन्ने मलाइ लागेको छ। भाद्र २५ मा हुने योजना रहेको महत भेलामा यस बिषयमा ठोस निर्णय लिन सकिने वाताबरण निर्माण हुन सकेमा भेलाको सार्थकता पुष्टि हुन जान्छ।
अन्यथा उहि आयो, गफगाफ र भाषण सुन्यो, सुनायो, खानपिन गर्यो, तितामिठा कुरा गर्यो, त्यतिमै हाम्रो भेला समाप्त भएर हामी उही पुरानै सुुसे धन्दामा फर्कन्छौँ। कुरा सकिन्छ। अनि अलि दिनपछि हाम्रो एउटै गोत्र हुन पर्छ भन्ने आवाज गुन्जिन थाल्छ। सुन्न मजा आउँछ तर गोत्र कहिल्यै परिबर्तन हुँदैन। अहिलेसम्म यहि भएको छ र भबिष्यमापनि यहि हुँदै जानेछ। उपलब्धीशून्य गफमै अलमलिएर सकिन्छ।
माथि उल्लेखित सबै कारण र तर्कहरुबाट म आफूले मानि आएको वा ग्रहण गरेको गोत्र परिबर्तन गरि हाम्रो गौरबशाली उद्गमस्थल जुम्लाका सम्मानित दाजुभाइ दिदी बहिनीहरुले मान्दै आएको गोत्रमा जान पूर्णरुपमा तयार भएको सबैमा सबिनय निबेदन गर्न चाहाना राख्नु उपयुक्त हुन्छ। यसो हुन सकेमा वा अहिले समयोचित निर्णय लिन सकेकोमा हाम्रो भाबी पुस्ताले हामीलाई स्याबासी दिँदै हामीप्रति गर्ब गर्ने आधार तयार हुन सक्ने देखिन्छ। साबिक अनुसार उहि टाइमपासको लागि गफमात्रै गर्ने हो भने यो गफलाई तत्काल बन्द गरि सबैजना आ-आफ्नो बाटो हिँडेमा पनि हाम्रो घरब्यबहार चलेकै छ। यसैगरी चलि नै रहन्छ। यसतर्फ चासो र चिन्ता गरेजस्तो नाटक नगरेकै राम्रो हुन्छ।
यो ब्यक्तिगत भनाइ र बिचार हो। यो कार्यान्वयन भएपनि वा नभएपनि यसलाई अन्यथा नलिइदिनु हुनसमेत सबैमा अनुरोध गर्दछु। आफ्ना भाबी सन्ततीहरुबाट स्याबासी पाउने हो वा धिक्कारी पाउने हो। पूर्णरुपमा हाम्रै हातमा भएकोले यो अबसरबाट हामी नचुकौँ भन्ने मात्रै मेरो भनाइ हो। बाँकी आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरुको निर्णयमा निर्भर रहन्छ। जय महत कूल देवता,जय महत बंश। सबैको कल्याण होस्, सबैको जय होस्।
